ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाले आफू आर्थिक प्रलोभनमा परेर कुनै काम नगर्ने बताएका छन् । हालै मात्र बुटवल आएका डीएसपी थापाले बिहीबार कार्यालयमै सञ्चारकर्मीहरुसँग अन्तरकृया गर्दै यस्तो बताएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका यसअघिका डीएसपी ठगबहादुर केसी आर्थिक प्रलोभन सहित सुन काण्डमा फसेपछि उनीमाथिको अनुसन्धान जारी छ । तर नयाँ आएका डीएसपी थापाले कुनैपनि आर्थिक प्रलोभनमा आफू नपर्ने बताए । “मेरो २५ वर्षको प्रहरी सेवा स्वच्छ ढंगले नै बितेको छ, अब पनि कुनै आर्थिक प्रलोभनमा फस्ने छैन”–उनले भने ।
उनले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य दायित्व र कर्तव्य रहेको भन्दै यही कर्तव्यलाई कुशल ढंगले निर्वाह गर्ने पनि उनले बताए । डीएसपी थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा कार्यरत थिए । उनले बुटवलको मुख्य समस्या लागू औषध नियन्त्रण रहेको र पछिल्लो समय आत्महत्या रोकथाम पनि मुख्य चुनौतीको रुपमा देखिएको भन्दै हत्या, हिंसा, लुटपाट, चोरी डकैती जस्ता जघन्य अपराधमा संलग्नलाई पनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।