कञ्चन //
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक तथा रजत पदक विजेता भएका खो खो खेलाडीहरुलाई एक कार्यक्रमका विच सम्मान गरिएको छ। लुम्बिनी प्रदेश खो खो संघ तथा जिल्ला खो खो संघ, रुपन्देहीको आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा सहभागी भई विभिन्न पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो। खेलाडीहरुलाई सम्मान गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले राष्ट्र र स्वास्थ्यका लागि खेल्ले खेलाडीहरु देशकै गहना भएको उल्लेख गर्नुभयो।
नवौ राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट कञ्चन, गैडहवा र सियारीका खेलाडीह सहभागी भई विभिन्न पदक हात पार्न सफल खेलाडीहरुले कञ्चनको मात्र नभई लुम्बिनी प्रदेशको गरिमा बढाएको प्रति बधाई ब्यक्त गर्दै कञ्चनको खेलकुदको बिकासका लागि आगामी गाउँसभामा कार्यविधि प्रस्तुत हुने जानकारी दिनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले कञ्चनमा राष्ट्रि तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन हुनु गर्वको विषय भएको उल्लेख गर्दै खो खो खेलबाट पनि राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपुर्ण भुमिका खेल्दै आएको जिल्ला खो खो संघ रुपन्देही र कञ्चन स्पार्टस एकेडेमीलाई धन्यवाद ब्यक्त गर्नुभयो।
खेलाडी तथा प्रशिक्षकहरुलाई बधाई दिदै वडा नं ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले कञ्चनको खेलकुद बिकासमा खो खो खेलले पनि महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो। खो खो खेलबाट सार्क स्तरिय प्रतियोगितामा समेत भाग लिएर कञ्चनको गरिमा बढाउने खेलाडीहरुको सम्मानका लागि गाउँपालिकाले आवस्यक गृहकार्य गरिरहेको वडा अध्यक्ष सापकोटाले बताउनु भयो। यस्तै वडा नं ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले खो खो खेलको बिकासका लागि वडा नं। ४ बाट आवस्यक बजेट विनियोजन गर्ने बताउनुभयो।
राष्ट्रिय खेलकुदमा खो खो खेलबाट सहभागी भई स्वर्ण पदक जित्न सफल पुरुष तथा रजत पदक विजेता महिला खेलाडीहरुले कञ्चनको गरिमा बढाएको उल्लेख गर्दै वडा अध्यक्ष खत्रीले सकेसम्म पालिकाबाट खोखो खेलको लागि बजेट व्यबस्थापन गर्ने प्रयास गर्ने र यदि गाउँपािलकाबाट सम्भव नभए वडाको वजेटबाट भएपनि आवस्यक बजेट व्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
जिल्ला खेलकुद बिकास समिति रुपन्देहीका सदस्य राम बहादुर थापाले स्थानीयतहमा खेलकुदको बिकास गर्न यथासक्य खेलकुद बिकास समिति गठन गर्न आग्रह गर्नु भयो। यदि गाउँतहबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्नु छ भने गाउापालिकाले बिद्यालयतहमा दक्ष खेलुकद शिक्षक र आवस्यक बजेट व्यबस्थापन गर्नु पर्नेमा जोड दिदै खेलकुद बिकास समिति, रुपन्देहका सदस्य थापाले कञ्चन सम्पुर्ण खेलकुदको हव भएको समेत बताउनुभयो।
लुम्बिनी प्रदेश खो खो संघका अध्यक्ष तुल बहादुर थापाले राष्ट्पति खेलकुद प्रतियोगिता र गाउापालिकाले सञ्चालन गर्ने प्रतिभा सप्ताहमा खो खो खेललाई समावेश गर्नु पर्नेमा जोड दिनु भयो। खेलकुदको बिकासले देशको परिचयलाई उच्च बनाउने बताउदै अध्यक्ष थापाले स्थानीय तहले खेलकुदमा बजेट व्यबस्थापन गर्न कञ्जुसाई गर्दै आएको समेत गुनासो गर्नुभयो।
पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीहरुले खो खो खेलमा पुरुष तर्फ स्वर्ण पदक र महिला तर्फ रजत पदक प्राप्त गरेका खेलाडीहरु मध्ये ५० प्रतिशत कञ्चन र गैडहवाका खो खो खेलाडी सहभागी भएका थिए। लुम्बिनी प्रदेश खो खो संघका अध्यक्ष तुल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खो खो संघका सदस्य तथा एथलेटिक्सका निर्णायक गंगालाल पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कञ्चन स्पोर्टस एकेडेमीका अध्यक्ष तथा खो खो खेलका प्रशिक्षक राजकुमार थापाले स्वागत गर्नुभएको थियो। कार्यक्रम पर्यटकिय स्थल गैडहवातालमा रहेको शहिद स्मृति पार्कमा भएको थियो।