काठमाडौं//
इटहरीमा चलिरहेको प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब र लुम्बिनी क्लब विजयी भएका छन । इटहरीको जनता क्रिकेट पार्कमा आज (शनिबार) सम्पन्न पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई सात विकेट र लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै शुक्रबारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेका छन ।
साविक विजेता एपिएफले गण्डकीबाट पाएको ५२ रनको सामान्य लक्ष्य ८.४ ओभरमा तीन विकेट गुमाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै २० ओभरमा सात विकेट गुमाएर मात्र ५१ रनको योगफल बनाउन सक्यो । आजै सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनीले प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो ।
लुम्बिनीबाट पाएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ४९ रनमात्र जोड्न सक्यो । यसअघि जनता क्रिकेट पार्कमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १ सय ४७ रनको योगफल बनाएको थियो । क्यानको आयोजना भएको प्रतियोगिता ७ माघसम्म चल्नेछ ।