पोखरा//
सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। पोखरामा आज बिहान भएको यती एयरको एटीआर विमान दुर्घटनापछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले उक्त निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यात्रुका आफन्तलाई यकिन जानकारी दिन विमानस्थलमा कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय पनि भएको उनले बताए । सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन तथा जाँच आयोग समेत गठन गरेको छ ।
आयोगका सदस्यहरुमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त उपरथी ९क्याप्टेन० दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने छन् ।
आयोगलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन निर्देशन दिइएको छ । दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली जनाउँदै मन्त्रिपरिषद् बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना जनाएको छ । विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिइएको छ ।