पोखरा//
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको विमान दुर्घटनामा परि निधन भएको छ । ६८ जना यात्रु लिएर काठमाण्डौबाट पोखरा आएको यति एअरलाइन्सको जहाज अवतरण हुन लाग्दा पोखरामा आज बिहान सेती खोँचमा दुर्घटनामा परेको हो ।
सोही विमानमा सवारु पौडेलको दुर्घटनामा ज्यान गएको छ । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनबाट निर्वाचित भइ केन्द्रीय सदस्य बन्नुभएको थियो । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा समेत काम गर्नुभएको थियो।
उहाँ पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक र सम्पादक पनि हुनुहुन्थ्यो । पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुनुहुन्थ्यो। उहाँका श्रीमती र एक छोरा छन् ।




