बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सचिवमा बिकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिब भुसाल रहनुभएको छ । यसैगरी सदस्यहरुमा बिकास पराजुली, डि.बी. सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ सर्वसहमत चयन हुनुभएको छ ।
निर्वाचित अध्यक्ष न्यौपानेले संघलाई थप क्रियाशिल र आर्थिक रुपमा सबल बनाएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै सदस्यहरु संख्याको वृद्धि गर्ने उल्लेख गर्नुभयो ।
यसअघिको उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले स्व. पत्रकार एन.बी. कंडेलको स्मृतिमा पुरस्कारको घोषणा गर्नुभयो । चलचित्र पत्रकार संघ रुपन्देहीका सदस्य तथा ग्लोबल आवाजका सम्पादक कंडेलको सवारी दुर्घटनामा परी ज्यान गएको थियो ।
उहाँले गरेका योगदानलाई कदर गर्दै हरेक वर्ष प्रदान गर्ने गरी स्व. एन. बी. कंडेल स्मृति उत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।साधारण सभाका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारिताको क्षेत्रमा मनोरञ्जन तथा चलचित्र पत्रकारिता क्षेत्र फरक र विशिष्ट बिटका रुपमा बिकास हुँदै गएको उल्लेख गर्नुभयो ।
यसैगरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर डंगोलले मोफसल र केन्द्र बीच परस्पर समन्वय नभएका गुनासाहरु आउने गरेको बताउँदै ती गुनासाहरुको समाधान गर्ने गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका उप महासचिव ओम जैसी, प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल ,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, फोटो पत्रकार संघ रुपन्देहीका अध्यक्ष मनिष पन्थ, चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार टोपराज शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
निर्वाचन समितिका संयोजक विश्वास ढकाल र सदस्यहरुमा कपिल ज्ञवाली र कृष्ण भण्डारी रहुनभएको थियो ।