काठमाडौं//
लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । इटहरीको जनता पार्कमा सम्पन्न बुधवारको पहिलो खेलबाट सुखद् नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।
यसअघि समूह ए बाट सुदूरपश्चिम समूह विजेता र एपिएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए । यस्तै समूह बी बाट प्रदेश १ सबै खेलमा जित निकाल्दै नकआउट चरणमा पुगेको थियो । बुधवार अन्तिम चारमा स्थान बनाउने क्रममा मधेसले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र ९१ रन जोड्न सक्यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले पूरै २० ओभरमा पाँच विकेटकौ क्षतिमा १ सय ७ रन बनाएको थियो । प्रतियोगितामा शुक्रवार सेमिफाइनल खेल हुनेछन। दिनको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल एपिएफ र प्रदेश १ बीच हुनेछ ।