४ माघ, नारायणगढ ।
नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ। गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो। यही माघ ५ गतेबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए। सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ।
निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ। यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ। पुसको ३० गते र माघको १ गते माघे संक्रान्तिका कारण सवारी रोकिएको छैन। विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो।
सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ। पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ। निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ। सो सडकको चौडाइ ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ।




