जाजरकोट//
जाजरकोटमा श्रीमतीले हत्या गरी शौचालयमा पुरेको श्रीमानको शव पाँच वर्षपछि प्रहरीले फेला पारेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरी शौचालयको खाडलमा शव पुरेको अवस्थामा शव फेला पारेको हो ।
२०७४ साल पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई टाउकोमा लाठीले हानेर हत्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। हत्यामा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। काले कामीको मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए।
यही माघ १७ गते गोप्य सूचनाको आधारमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको थियो। खाडलमा पूरै दाँत सहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो। घटनाको बारेमा आवश्यक थप अनुसन्धानका भद्रकला, तुल्सीराम विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको छ।