एजेन्सी ।
अमेरिका र चीनबीचको व्यापार कीर्तिमानीस्तरमा पुगेको छ । पछिल्ला केही वर्षदेखि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्धमा तनाव चुलिए पनि दुई देशबीचको व्यापार भने अहिलेसम्मकै धेरै भएको हो । सन् २०२२ मा अमेरिका र चीनबीच छ खर्ब ९० अर्ब डलरको व्यापार भएको बीबीसी हिन्दीको खबरमा उल्लेख छ । यसअघि अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले चीनबाट आयातमा धेरै गुणा कर लगाउन थालेपछि दुई देशबीच व्यापार युद्ध चलेको थियो । तर केही समयअघि वाशिङटनमा प्रतिष्ठित व्यापारीहरूको सहभागितामा दुवै देशका अधिकारीहरूबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको थियो ।
फेरि पछिल्ला केही दिनमा अमेरिकामा देखिएको चिनियाँ बेलुनलाई लिएर दुई देशबीचको तनाव फेरि गहिरिएको छ । अमेरिकाले यसलाई जासुस बेलुन भनेको छ भने चीनले मानवरहित मौसमबारे खबर जुटाउने बेलुन भएको जिकिर गरेको छ । तर दुई देशबीच दक्षिण चीन सागरमा चीनले कृत्रिम द्वीप बनाएको र त्यहाँ आफ्नो सेनाको उपस्थिति बढाउने सहित ताइवान जस्ता मुद्दालाई लिएर पहिलेदेखि नै तनाव छ ।