झविन्द्र देवकोटा, बुटवल।
रुपन्देहीको देवदह–७ पिपलडाँडामा रहेको देवदह इङलिस बोर्डिङ्ग स्कूलले सप्ताहब्यापि कार्यक्रम गरेर रजत महोत्सव मनाउने भएको छ । विद्यालयले २७ औं वार्षिकोत्सव तथा रजत महोत्सवको तयारी सुरु गरेको जनाएको छ । आइतबार विद्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै कोभिडका कारण रजत महोत्सव मनाउन नपाएकाले यसवर्ष २७ औं वार्षिकोत्सवको अवसरमा रजत महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो । फागुन ६ गतेदेखि सुरु हुने महोत्सव १२ गते मुल समारोहको आयोजना गर्दै समापन गरिने देवदह इङ्गलिस बोर्डिङ्ग स्कूलका प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । २०७७ सालमा रजत महोत्सव परेपनि कोरोना भाईरसका कारण स्थिगित गरेको उहाँले बताउँदै अहिले सहज परिस्थिती भएपछि रजत महोत्सवकै रुपमा वार्षिकोत्सव मनाउन लागिएको समेत बताउनुभयो ।
शैक्षिक, सामाजिक तथा खेलकुदका गतिविधि सञ्चालन गरेर महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । सप्ताहव्यापि कार्यक्रम अन्तरगत विद्यालयले फागुन ६ गते सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, ७ गते पुर्व विद्यार्थी तथा शिक्षक पुर्नमिलन कार्यक्रम, ८ गते देवदह स्तरिय मावि तह छात्र भलिबल प्रतियोगित, १० गते अभिभावक खेलकुद प्रतियोगिता तथा स्वास्थ्य शिविर, ११ गते पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रम र १२ गते मूल समारोहको आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो। यो विचमा संस्थागत विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानका बारेमा बहस कार्यक्रम समेत गरिने जानकारी दिनुभयो ।
२०५३ सालमा स्थापना भएको विद्यालयले २०६४ सालबाट एसएलसी परीक्षामा विद्यार्थीहरुलाई सहभागिता गराउँदै आएको विद्यालयबाट एक हजारबढी विद्यार्थीले एसएलसी उर्तिण गरेको सहप्रिन्सिपल मनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । २०६४ सालको एसएलसीमा शत प्रतिशत सहित साविक पञ्चिमाञ्चल विकास क्षेत्रमा प्रथम स्थान हासिल गरेको उहाँले बताउँदै २०७५ सालको एसईईमा जिपिए ४ ल्याई जिल्लामा प्रथम हुँदै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गर्नुभयो । विद्यालयबाट पास भएका अधिकाशं विद्यार्थी डाक्टर ,ईन्जिनियर, वकिल, चार्टर एकाउन्टेण्ट, निजमाती कर्मचारी तथा सरकारी, गैहै सरकारी क्षेत्रका महत्वपूर्ण पदमा आबद्ध भएका पुर्व विद्यार्थीलाई समेत रजत महोत्सवमा सम्मान गर्ने कार्यक्रम राखिएको विद्यालयका भ्वाईस प्रिन्सिपल निश्चिल गौतमले जानकारी दिनुभयो ।
विद्यालयमा अहिलेसम्म १ हजार ८० विद्यार्थीले एसईई उत्तिण गरेको र अहिले ९१५ विद्यार्थी विद्यालयमा अध्ययनरत रहेका छन । नयाँ शिक्षा ऐन पारित भएमा नयाँ पाठ्क्रम सहितको कक्षा ११ र १२ सञ्चालनको तयारीमा रहेको विद्यालयले बताएको छ । महोत्सवको अवसरमा हुने भलिबल प्रतियोगितामा प्रथम ५, दोश्रो ३ र तेश्रो २ हजारसहित मेडेल तथा ट्रफि पुरस्कार प्राप्त गर्ने विद्यालयले खेल प्रशिक्षक अर्पण पौडेलले जानकारी दिनुभयो ।