बुटवल।
तीनै तहका सरकारले ल्याउने कानून प्रेस विरोधी हुन नदिन चनाखो हुनुपर्ने एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार तिलोत्तमाको बनबाटीकामा गरेको स्थानीय तहका समस्या समाधानका विषयमा गरिएको अन्तरक्रिया तथा पत्रकार सम्मान कार्यक्रममा उनीहरुले प्रेस स्वतन्त्रता हनन् हुने कानून ल्याउन नदिन चनाखो हुनुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले लोकतन्त्र र प्रेस स्वतन्त्रता मन नपराउनेहरु पनि वर्तमान सरकारमा रहेकाले सतर्क हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहका साना साना कुराहरुलाई संचारकर्मीले ध्यान दिनु पर्ने सुझाव दिनुभयो ।
प्रेस युनियन नयाँ ढंगले अघि बढ्नुपर्ने भन्दै उहाँले नेताहरुको पछि लाग्न छाडेर जनताका गुनासा र समस्याका बारेमा युनियनले लगातार अन्तरक्रिया गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा युनियनका उपाध्यक्ष माधब अर्यालले केन्द्र, प्रदेशदेखि स्थनीय सरकारसम्म कार्यहरुप्रति पत्रकारले कलम चलाउनुपर्ने बताउनुयभो । यस्तै युनियन महासचिव दिलिप पौडेलले पछिल्लो पटक नयाँ दलहरुले पनि नेपाली सञ्चारमाध्यमप्रति धावा बोल्ने काम भएको भन्दै त्यसले प्रेस जगतलाई चिन्तीत बनाएको बताउनुभयो । यस्तै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले स्थानीय तहलाई जवाफदेही बनाउन संचार माध्यमको अहम भुमिका हुने बताउनु भयो । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शहरका समस्या सँगै व्यवसायीका समस्याहरुलाई पनि उठान गर्न पत्रकारहरुसँग आग्रह गर्नुभयो । प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालले युनियनका सबै सदस्य र सुभेक्षुकहरुबीच आपसी भेटघाट सम्बन्ध विस्तार होस भनेर बनभोज सँगै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुयभयो ।
युनियनकी कार्यवहाक सचिव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष माधव अर्याल, महासचिव दिलीप पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा युनियनका सल्लाहकार भवानीप्रसाद पाण्डे, सल्लाहकार तथा पत्रकार महासंघका प्रदेश महासचिव विक्रम खड्का, सल्लाहकार तथा पत्रकार महासंघका रुपन्देही सभापति रामराज पोखरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु, लगायतले सम्मान प्राप्त गर्ने पत्रकारहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रेस युनियन लुम्बिनी प्रदेश समितिका नवनिर्वाचत पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै प्रेस युनियनका केन्द्रीय पदाधिकारीहरुलाई समेत युनियन रुपन्देहीले सम्मान गरेको थियो । अन्तरक्रिया कार्यक्रममामा युनियनका केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यसँगै पूर्व केन्द्रीय सदस्य, सल्लाहकार र शुभेक्षुकहरु गरि एकसय बढीको सहभागीता रहेको थियो ।