एजेन्सी ।
टर्कीमा भूकम्प गएको एक सय ७८ घण्टापछि एक ७० वर्षीया महिला र छ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ। हाते प्राप्तमा भत्किएको एउटा तीन तले घरको भग्नावशेषबाट ७० वर्षीया महिला र अदियामानमा रहेको एक अपार्टमेन्टको भग्नावशेषबाट छ वर्षीया बालिकाको जीवितै उद्धार भएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसअघि गाजियन्टेप प्रान्तमा पनि भूकम्प गएको एक सय ७० घण्टापछि ४० वर्षीय पुरुषको जीवितै उद्धार भएको थियो। भग्नावशेषमा पुरिएको लामो समयसम्म पनि जीवितै उद्धार हुनुलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चामत्कारिक घटना भनेका छन् । विज्ञहरूले भने भवन वा संरचना भत्किँदा च्यापिएका, थुनिएका वा फसेका व्यक्तिको अवस्थिति, पानी र श्वास फेर्ने पहुँच, त्यहाँको मौसमको अवस्था र शारीरिक तन्दुरुस्ती लगायत विभिन्न कुराहरूले उनीहरू कति समय बाँच्न सक्छन् भन्ने निर्धारण गर्ने बताउँछन् ।
संयुक्त राष्ट्र सङ्घले विनाशकारी घटना भएको पाँचदेखि सात दिनसम्म खोजी र उद्धार जारी राख्ने गरेको छ । तर यस्तो निर्णय पनि लगातार एक वा दुई दिनसम्म जीवित मानिसहरूको उद्धार हुन नसकेको अवस्थामा मात्रै लिइन्छ । यसैबीच टर्कीमा सोमवार बिहान र दिउँसो गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३६ हजार नाघेको छ । टर्कीमा ३१ हजार छ सय ४३ जना र सिरियामा चार हजार छ सय १४ जना गरी ३६ हजार दुई सय ५७ जनाको ज्यान गएको अलजजिराले जनाएको छ ।
तस्बिर : एलुओरियन्ट टुडेबाट