कौरब खत्री, गुल्मी ।
गुल्मी मुसिकोट नगरपालिका १ मुरालीपानी निवासी संगीता नेपालीको उपचारार्थ देश तथा विदेशबाट संकलन गरिएको नगद सहयोग हस्तान्तरण गरिएको छ। भगवती आधारभूत विद्यालयको ४०औ वाषिर्कोत्सव तथा अभिभावक दिवसका अवसरमा संकलित रकम मुसिकोट नगरपालिका १ वडाअध्यक्ष मोहन घिमिरे, वडा सदस्य दान बहादुर केसी, वडा सदस्य कुसुम परियार, नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, कोषाध्यक्ष कौरव खत्री, सामुदायिक रेडियो छत्रभुमीका स्टेशन म्यानेजर माधव खरेल, सहायक स्टेशन म्यानेजर सुरज कार्की, युवा समाजसेवी प्रकाश श्रेष्ठ लगायतको उपस्थितिमा बिरामी नेपालीको आमा गोमा नेपालीलाई रकम हस्तान्तरण गरिएको भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीले जानकारी दिनुभयो ।
साथै हात,खुट्टा र कम्मरमा गहिरो चोटका कारण पिडित बनेकी नेपालीको उपचारका लागि सहयोग अभियान मार्फत सामुदायिक रेडियो छत्रभुमीको पहलमा नगद रू ३६ हजार ५ सय रूपैयाँ नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीको पहलमा नगद ८ हजार १ सय रूपैयाँ गरि कुल जम्मा ४४ हजार ६ सय रूपैया नगद विरामीका आमा गोमा नेपालीलाई सहयोग स्वरुप रकम हस्तान्तरण गरिएको थियो । गत पौष २३ गते बाङ्गिको भिरबाट घाँस काट्दा भिरबाट लडेर हात खुट्टा र कम्मरमा गम्भीर चोट लागेपछि नेपालीको स्वास्थ्य उपचारमा समस्या भएको थियोे ।
साथै घरको आर्थिक अवस्था निकै कमजोर भएको नेपाली भगवती आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा विद्यार्थी नेपालीको स्वास्थ्य उपचारको लागि विद्यालयले उपचारमा आर्थिक सहयोगको पहल गरिदिन आग्रह गरेपछि सहयोग अभियानबाट उक्त सहयोग रकम जुटेको भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक नेपालीले जानकारी दिनुभयो । बिरामी नेपालीको गुल्मी अस्पताल तम्घासमा उपचार भैईरहेको विद्यालयका प्रधानाध्यापक नेपालीले जानकारी दिनुभयो ।