दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी हस्तान्तरण गर्ने बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमुना शहरका रुपमा विकास गर्ने अभियानमा अगाडी बढ्दै गएको बताउनुभयो ।
‘समृद्ध प्रदेश आत्मनिर्भर जनता’ को अभिभारा पुरा गर्न लागिपरेको भन्दै मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमुना प्रदेश बनाउने मुख्यमन्त्री गिरीले उल्लेख गर्नुभयो ।
संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँचवर्ष उपलब्धीमुलक रहेको बताउदै उहाँले पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको भन्दै यो उपलब्धी रहेको बताउनुभयो । त्यस्तै प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले एक महिनाभित्र प्रदेश सरकारका सबै काम स्थायी राजधानीबाट सुरु गर्ने बताउनुभएको छ । पूर्वाधारको अभावमा सरकारका सम्पूर्ण संरचना राजधानी स्थलमा स्थानान्तरण हुन नसकेको बताउँदै मन्त्री आचार्यले पूर्वाधार व्यवस्थापनको कार्य अगाडि बढेको बताउनुभयो ।




