देवदह // सातौं राष्ट्रिय देवदह औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव-२०७९ ले देवदहमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहिबार मेलास्थल देवदह मण्डपमा भएको रक्तदान कार्यक्रममा ३३ यूनिट रगत संकलन भएको रक्तदान समन्वय उपसमिति संयोजक सुशिला आले जानकारी दिइन।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष मोहन बहादुर जिसीले मेला आयोजकले रक्तदान जस्तो पवित्र सामाजिक कार्यमा सहभागी भएकोमा मेला आयोजक समितिको प्रशंसा गरेका थिए ।
रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी देवदह शाखा र अखिल क्रान्तिकारी देवदह नगर कमिटीको सहयोग रहेको रक्तदान समन्वय उपसमिति सह-संयोजक तथा नेपाल रेडक्रस सोसाईटी देवदह शाखा सचिव सरोज न्यौपानेले बताए ।
फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् ।
१५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।