काठमाण्डौ ।
ग्यास सिलिन्डर लिक भएर आगलागी हुदाँ घाइते हुनुभएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उहाँको अहिले भारतको मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार भईरहेको छ। भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टरले जानकारी गराएका छन । उहाँ खतरामुक्त रहेकाले पर्सि सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने डाक्टर सुनिल केस्वानीले बताउनुभयो । भण्डारीको हिजो दुई वटै खुट्टाको शल्यक्रिया गरिएको थियो ।
साथै उहाँको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने डाक्टरको भनाई छ । गएको बुधवार राति काठमाण्डौको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । उपचारका क्रममा आमा हरिकलाको भने निधन भएको छ ।