देवदह // सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सवमा जारी अन्तर विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधी जनप्रिय माध्यमिक विद्यालय देवदह-१० ले जितेको छ।
१२ विद्यालयका १६ टीम सहभागी प्रतियोगितामा शनिबार सेमिफाइनल र फाइनलका खेल भएका थिए।प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जनप्रिय मा.वि. ले सगरमाथा मा.वि. लाई पराजित गर्दै जनप्रिय मा.वि फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो खेलमा सगरमाथा समूह ‘बि’ लाई पराजित गर्दै देवदह मावि फाइनलमा पुगेको थियो। फाइनल खेलमा जनप्रिय मा.वि.ले देवदह मा.वि लाई पराजित गर्दै उपाधी हासिल गरेको हो।
प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई र नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै सहभागी सम्पूर्ण विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रमेश थापाले जानकारी दिए। साथै तीन जना खेलाडिलाई इमर्जिंङ खेलाडी अवार्ड समेत दिईएको छ ।
त्यसैगरी, शनिबार नै महोत्सवको खेल समन्वय उप समितिद्वारा पुरुष भलिबल प्रतियोगिताको समेत सुरूवाट गरेको छ। देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेद्वारा एक कार्यक्रमका बीच खेलको उद्घाटन गरिएको छ। पुरुष भलिबल तर्फ २४ टिम सहभागी भएको आयोजकले जनाएको छ।
फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा नि:शुल्क स्वास्थ्य शिविर संचालन भैरहेका छन्।