देवदह ।
नागरिकको आधारभूत आवश्यकता पुरा गर्नेगरी सरकार लागिरहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनुभएको छ। उहाँले आमनागरिकले स्वच्छ खानेपानी उपलव्ध गराउने गरी योजना अगाडि सारेको बताउनुभयो। देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठो बार्षिक साधारण सभामा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो। पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले खानेपानी विकासको लागि एकिकृत योजना आवश्यक रहेको बताउदै खानेपानी संस्थाले अगाडि सारेको योजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले हरेक विकास निर्माणको कम गर्दा अफठ्यारा रहेकोले नीतिगत सुधार गर्न आवश्यक रहेको औल्याउनुभयो। उहाँले सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्याको लागि भूमि आयोगले काम गरेको भएपनि राजश्वका कारण समस्या रहेको बताउनुभयो। विश्वकर्माले सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान गर्ने गरी तिनै तहका सरकार लागिपरेको दावी गर्नुभयो। उहाले सरकारले ठुलठूला योजना ठेक्का मार्फत गर्ने गरेको भएपनि ठेकेदारले समयमा काम नगर्दा समस्या हुने गरेको बताउनुभयो।
देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष गुमानसिंह कुवरको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, पुर्व प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपाने, लुम्बिनी प्रदेशसभा सदस्य खडग बस्नेत, संघीय खानेपानी आयोजनाका प्रमुख विनोदकुमार भुजेल, लुम्विनी प्रदेश खानेपानी महासंघका थानप्रसाद गैरे, जिल्ला खानेपानी महासंघ रुपन्देहीका धु्रवप्रसाद धिताल, नगर प्रवक्ता गणेश डुम्रे, सल्लाहकार ऋषिराम सापकोटा लगायतले बोल्दै सरकारले अगाडि सारेको विकास निर्माणको कामले खानेपानी वितरणमा समस्या भएको बताएका थिए। कार्यक्रममा पुर्व संचालक समिति र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष कुवरले बार्षिक प्रतिवेदन, सचिव हरिप्रसाद पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीले आर्थिक प्रतिवेदन र लेखा संयोजक सुवकान्त न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। संस्थाका उपाध्यक्ष अनिशा पौडेलको स्वागत र सचिव हरिप्रसाद पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।