बुटवल ।
लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा नयां गजुर राखेको छ । कोषले पुरानो गजुर जीर्ण भएपछि स्वयम्भू स्तुपा आकारको नयाँ गजुर राखेको हो । लुम्बिनी विकास कोषका अनुसार गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोङले आर्थिक सहयोग गरेको हो । मंगलबार दाता मालिनोङ बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर राखिएको छ। यसअघि राखिएको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभएको छ ।
आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताउनुभयो। गजुरको बाहिर पट्टीको भागमा सुनको जलप लगाइएको छ। यसअघिको मन्दिरको गजुर पुरानो र जीर्ण भइसकेको थियो । मालिनोङ र लर्टट्रथले भारतको कुशिनगरस्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधी बृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यको भनाई छ । स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको शाक्यले बताउनुभयो।