देवदह // नेपाल मगर संघ देवदह नगर समितिले ४१ औँ मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। नगर समितिले शुक्रबार देवदहमा पत्रकार सम्मेलन गरी फाल्गुन १५ गते ४१औँ मगर स्थापना दिवस भब्य रुपमा मनाउन लागेको जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मगर संघ देवदह नगर कमिटीका अध्यक्ष शोभा कुमारी थापाले मगरहरुलाई एकताबद्ध बनाई जातीय हकहित र अधिकार प्राप्तिका लागि हरेक वर्ष फाल्गुन १५ को दिन मगर एकता दिवस मनाउँदै आएको जानकारी दिदै देश परिवर्तनका लागि ठूलो योगदान र त्याग गरेको मगर समुदायको गुनासो र मागलाई सरकारले बेवास्ता गरेकोमा खेद प्रकट गर्नुभयो । उहाँले छिमेकी जिल्लाका केही पालिकाहरुमा फागुन १५ गते सार्वजनिक बिदाको घोषणा गरेपनि देवदह नगरपालिकाले बेवास्ता गरेको गुनासो गर्नु भयो । अध्यक्ष थापाले मगरहरुलाई एकतावद्ध गर्दै भाषा, संस्कार, संस्कृति संरक्षण र सम्वर्द्धन गर्न देवदह नगरकमिटि प्रतिबद्ध रहेको उल्लेख गर्दै मगरहरुको जातीय पहिचान स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले मगर संघले एकता दिवसको अवसरमा फागुन १२ गतेदेखि खुल्ला बि लेवलको पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । उहाँले खेलमा प्रथम हुने टिमलाई ३३ हजार नगदसहित शिल्ड र मेडल, द्धितिय हुनेलाई २२ हजार नगद, शिल्ड, मेडल, तृतीय हुनेलाई १२ हजार नगदसहित, शिल्ड, मेडल र सान्त्वना हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्ने बताउनुभयो । त्यसै गरी फाल्गुन १५ गते विहान ८ बजेदेखि पानवारी खेलमैदानमा रक्तदान कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरु बिमला घर्तीमगर, पवन राना मगर र डान्सर आरुषी मगर लगायतका कलाकारको प्रस्तुती जानकारी दिनुभयो ।
देवदहको पानबारीमा आयोजना हुने कार्यक्रम रुपन्देही क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री माननीय छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता हुने आयोजकले जनाएको छ । मगर संघ देवदह नगर कमिटीका अध्यक्ष शोभा कुमारी थापाको अध्यक्षता, संघका नगर सचिव मन बहादुर राना मगरको कार्यक्रम संचालनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष मिलन मास्की मगर, सदस्य किसन थापा मगर लगायतको सहभागी रहेको थियो ।