दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सरकार फेरबदल नहुने बताउनुभएको छ । संसदीय व्यवस्थाको मर्मअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ। नेकपा एमालेकाे ‘मिसन ग्रास रुट’ अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले यस्तो बताउनुभएको हो । ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्मअनुसार अगाडि बढ्छौँ ।’ उहाँले भन्नुभयो ।
प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने उहाँको भनाई छ। केन्द्रीय सरकारमा देखिएको समस्याले वामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी/विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन विरोधी काम हुन थालेको बताउनुभयो ।
नेपाली नागरिककाे लामो सङ्घर्षपछि राजनीतिक आन्दोलनमा सफलता प्राप्त गरे पनि विकास र समृद्धिको आन्दोलनमा विजय हासिल गर्न बाँकी रहेको भन्दै मुख्यमन्त्री गिरीले पार्टीलाई नागरिकसँग जोडेर जनमतको बलमा समृद्धिको आन्दोलनमा सफलता हासिल गर्ने बताउनुभयो ।