रुपन्देही // आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि हरैया बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को तर्फबाट सुनिल राना सर्वसम्मत भएका छन्। उम्मेदवार छनौटको लामो रस्साकस्सीका बीच सहमति हुन नसकेपछि नेविसंघ रुपन्देही जिल्ला कार्यसमिति एवं नेपाली कांग्रेस कञ्चन गाउँ कार्यसमितिमा सिफारिस गर्ने अन्तिम तयारी भइरहँदा सभापति पदका दाबेदार पूर्व सभापति तथा निवर्तमान सभापति प्रकाश उपाध्याय पौडेल र विद्यार्थी नेता सन्तोष कंडेलले सहमति जनाएपछि राना सर्वसम्मत भएका हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) हरैया बहुमुखी क्याम्पस सभापति समेत रहेका राना विद्यार्थीहरुमाझ निकै लोकप्रिय विद्यार्थी नेता हुन्। विद्यार्थीहरु माझ आफ्नो प्रभुत्व जमाउन सफल, मिलनसार, शान्त एवम् शालिन स्वभावका रानालाई स्ववियु सभापतिको प्रमुख दाबेदारका रुपमा हेर्न थालिएको छ। १५ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि नेविसंघले अन्य पदका लागि उम्मेदवारको नाम टुंगाइसकेको छैन। सर्वसम्मत नाम सिफारिस भएपछि रानाले अहिले सम्म विद्यार्थीको हक अधिकारको निमित्त लागिपरेको हुँदा निर्वाचित हुने कुरामा विश्वस्त रहेको बताए। क्याम्पसमा ५१४ विद्यार्थीको प्रारम्भिक मतदाता नामावली सार्वजनिक भइसकेको छ।