२५ फागुन, बुटवल ।
रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलबार राती एक युवाको हत्यामा संलग्न ३ युवालाई आज बिहिबार प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले घटना बारे जानकारी गराउँदै उनीहरुलाई सार्वजनिक गरेको हो । प्रकाउ पर्नेमा सैनामैना नगरपालिका २ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना २ बस्ने ध्रुव वि.सी र नवलपरासी बर्दघाट घर भई हाल सैनामैना बावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेरबहादुर बोहोरालाई प्रहरीले प्रकाउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतक युवाको भने हालसम्म पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनुभयो। आरोपितहरुको प्रारम्भिक बयान अनुसार ढुङ्गाले हानेर युवाको हत्या भएको थियो । घटनामा युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियत्रणमा लिएको थियो।