काठमाण्डौ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएको छ । नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भएको थियो । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो ।
यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन र जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। यस शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पीएनजी रहेका छन। अङ्क तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित पाँचौँ स्थानमा छ । पीएनजी उति नै खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ ।