उदयपुर ।
उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ
स्थानीय शिक्षक गौरवबहादुर मगरका अनुसार घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए । उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो । घटनामा मानवीय क्षतिसँगै घरमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । आगलागीमा मगरको अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जल्दा करिब रू १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीले साँझ ६ बजे नियन्त्रणमा लिएको थियो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।