एजेन्सी ।
चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित चियाङलाई त्यहाँको संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको बीबीसीले जनाएको छ । चियाङको पक्षमा नेशनल पिपुल्स कङ्ग्रेसका दुई हजार ९ सय ३६ जना र विपक्षमा तीन जनाले मत दिएका छन् । आठ जना अनुपस्थित थिए । ६३ वर्षका चियाङले अब प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेर भोलिदेखि सरकारको नेतृत्व गर्नुहुनेछ । ली अब चीनको राजनीतिक प्रणालीमा दोस्रो उच्च दर्जाका अधिकारी हुनुहुनेछ । उहाँ यसअघि चीनको आर्थिक राजधानी भनिने सांघाइको प्रमुख हुनुहुन्थ्यो ।
व्यवहारवादी नेताका रूपमा परिचित चियाङ राष्ट्रपति सीका नजिकका सहयोगीका रुपमा चिनिनुहुन्छ । सी हिजो तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि प्रधानमन्त्रीका रूपमा लीको नियुक्ति भएको हो । ६९ वर्षका सी चीनमा कैयौँ पुस्तापछि सबैभन्दा प्रभावशाली नेता बन्नुभएको छ । शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पार्नुभएको हो । माओत्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकाल भन्दा बढी एउटै पदमा रहन नपाउने व्यवस्था राखिएको थियो । तर सीले त्यो व्यवस्थालाई परिवर्तन गरेपछि राष्ट्रपतिमा तेस्रो कार्यकाल शुरु गर्नुभएको हो । उहाँले प्रधानमन्त्री, सभामुख लगायतका पदमा पनि निकट सहयोगीहरुलाई राख्नुभएको छ ।