तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको १ सयौंं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अनुसार सिक्स लेनमा मानव साङ्लो निकालिएको हो । अभियानमा सबै नागरिकवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभएको छ। योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरूले एक—आपसमा हात जोडेर सरसफाइ अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए ।
मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो । मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटन समेत गरिएको छ । अभियान १०० औं श्रृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाइ स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो।