बुटवल ।
दक्षिण कोरियाबाट बुद्धस्थलको पैदल यात्रामा निस्केका दुई सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आएका छन । उनीहरुलाई लुम्बिनी विकास कोषले आज मंगलबार स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्रीहरुलाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले खादा ओढाएर स्वागत गरेका हुन् ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल मायादेवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता भएको बौद्धसंस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहितका तीर्थयात्रीलाई पैदल यात्रा गराई लुम्बिनी ल्याएको हो । भारतस्थित बोधगया, शारनाथ, कुशीनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन् । मायादेवी मन्दिरभित्र रहेको बुद्ध जन्म स्मारक, पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङ्गले प्रवचन दिएका थिए । कोरियाली बौद्ध धर्माम्वलम्बीहरुको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ ।