काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज सोमबार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले दोस्रो पटक विश्वासको मत पाउनुभएको हो । बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हुन भने ८९ सांसदले यस प्रस्तावको विपक्षमा मत दिँदा १ जना तटस्थ रहेका हुन।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिनुभएको हो । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्दा नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको हो । यसअघि गएको पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको थियो ।