प्युठान । प्राइम कमर्सियल बैंक सरुमारानी शाखाद्वारा सरस्वती उच्च मा.बि., चाभामा वित्तीय सचेतना कार्यक्रम गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
‘ग्लोबल मनी वीक २०२३’ कार्यक्रम अनुसार विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम गरिएको हो । उच्च माविमा रहेका विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुरÞ्याउने उद्देश्यले कार्यक्रम गरिएको प्राईम बैंक सरुमारानी शाखाका प्रवन्धक भीष्म कुमार चौधरीले बताउनु भयो ।
विद्यार्थीहरुलाई वित्तीय साक्षरताको अर्थ, नेपालमा वित्तीय प्रणालीको अवस्थामा, बैंकले गर्ने मुख्य कामहरु, वित्तीय अनुशासन र डिजिटल बैकिङ प्रविधिका बारेमा जानकारी गराइएको सहजकर्ता शिर्जनसिल खड्काले बताउनुभयो।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाबाट युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् । यस वर्षको थिमले युवाहरूमा वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको छ।