काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताउनुभएको छ । शनिबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताउनुभयो । नेपाली कांग्रेससँग आठ लाख भन्दा बढी कार्यकर्ता र ३०० भन्दा बढी स्थानीय सरकारको नेतृत्व रहेको भन्दै थापाले ती सबैलाई राम्रोसँग काम लगाउन सकेमा पार्टीलाई राम्रो हुने बताउनुभयो। साथै उहाँले आजसम्म आफूलाई कसैले बोलाएर केही कुरा नदिएको भन्दै आफूले लडेर पाएको उल्लेख गर्नुभयो। आफ्नो ध्यान २०८४ सालमा कुनै पनि गठबन्धन नगरी एक्लै चुनाव लड्नेमा रहेको थापाले बताउनुभएको थियो ।