अर्घाखाँची ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ। नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट अभियानअन्तर्गतको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जान्नुपर्ने र एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्ने बताउनुभएको थियो ।
उहाँले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताउनुभयो । मिसन ग्रासरुटमार्फत् एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्ने बताउदै एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह समेत गर्नुभएको थियो । अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र सङ्घका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले सङ्गठन निर्माणमा लागेको जानकारी दिनुभयो ।