काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान एवम् रक्षा मन्त्री, डा. प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङ सहरी विकास मन्त्री बन्नुभएको हो । यस्तै जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र सङ्घीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदी नै रहुनभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुभएको छ भने नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएकोे छ । सातौँ पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेको छैन । आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले चार जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।