एजेन्सी ।
झन्डै चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जना पक्राउ परेका छन् । देशको तेल कम्पनी पीडीभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई पक्राउ गरिएको भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम साबले बताउनुभएको छ । गएको महिनको दोस्रो हप्ता भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पारिने तथा त्यसमा संलग्न भएकालाई कारबाही गर्ने आह्वान गर्दै भ्रष्टाचार विरोधी प्रहरीले एक विज्ञप्ति जारी गरेपछि देशका शक्तिशाली तेल मन्त्री तारेक एल एसामीले राजीनामा दिनुभएको छ ।
प्रहरीको भ्रष्टाचार विरोधी अभियानले पीडीभीएएसका अधिकारीहरू तथा अन्य सार्वजनिक संस्थाहरूलाई निसाना बनाएको छ । अभियानका क्रममा उच्च पदस्थ व्यक्तिलाई हिरासतमा लिइएको छ । राज्य स्वामित्वको कर्पोरेसियन भेनेजोलाना गुयानाका अध्यक्षलगायत उच्च तहका कर्मचारी पक्राउ परेका छन् ।
भेनेजुएलाको केन्द्रीय बैंकका पूर्वनिर्देशक पेड्रो माल्डोनाडो, पूर्व सांसद हग्बेल रोआलाई पनि पक्राउ गरिएको छ । रोआ वर्षौँदेखि भेनेजुएलाको सत्तामा रहेका युनाइटेड सोसलिस्ट पार्टीका शीर्ष नेता हुन् । देशको उपराष्ट्रपतिका साथै आन्तरिक तथा उद्योग मन्त्रीको रूपमा काम गरेका सत्तारूढ दलका नेतालाई पनि छानबिनका निम्ति पक्राउ गरिएको छ ।