बुटवल ।
बुटवलमा प्रतिष्ठित कम्पनीहरुका उत्पादन एकैठाउँमा पाउने गरी ‘नेपाली जुत्ता घर’ को शुभारम्भ भएको छ। नयाँ वर्ष २०८० को शुभारम्भसँगै बुटवलको मिलनचोकमा अवस्थित डेल्टा मार्टको पहिलो तल्लामा जुत्ताघर शुभारम्भ भएको हो। जुत्ता घरको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गर्नुभएको छ। मन्त्री पन्थीले नेपाली सामग्रीको उपभोगलाई वृद्धि गरी वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताउदै वार्षिक अरबौंको आर्थिक घाटालाई कम गर्नका लागि नेपाली उद्योग तथा उत्पादनलाई प्रोेत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, नेपाल वुट वेयर म्यानुफ्याक्चर एसोसिएशनका अध्यक्ष नविनराज घिमिरे लगायतले स्वदेशी बस्तुको प्रयोगमा जोड दिनुभएको छ।
नेपालका जुत्ता उद्योगहरुमा ३५ अर्ब बढी लगानी रहेको तथा ती उद्योगहरुमा ६५ हजार बढीले रोजगार प्राप्त गरिरहेको उहाँको भनाई छ। नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआपसमा प्रतिष्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढाउँदै उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीतिअनुसार जुत्ता घर सञ्चालनमा ल्याएका हुन। जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिनुभयो।
सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत नयाँ वर्षको अवसरमा लञ्चिङ गरिनुका साथै शुभारम्भको अवधीभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकको भनाई छ । जुत्ताघर शुभारम्भको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । नेपाल नियमित रक्तदाता संघको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा १ सय यूनिट बढी रगत संकलन भएको संघका अध्यक्ष कृष्ण चौहानले जानकारी दिनुभएको छ ।