काठमाडौं ।
समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यम मार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको सिद्धार्थनगर नगरपालिका–१२ को जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उनको साथबाट एकथान ल्यापटप र जिल्ला प्रहरी कार्यालयको सरकारी छाप बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी गराउनुभयो । गत मिति २०७९।१२।३० गतेको काठमाण्डौबाट प्रकाशित पत्रिकामा “प्रहरी माथि अर्को गम्भीर आरोप, निवेदनको नाममा ५ सय रुपैयाँ असुली” भन्ने शिर्षकमा ठाडो उजुरी शाखाबाट निवेदन लेखेवापत रु ५ सयका दरले प्रहरीले पैसा लिने गरेको भनि नाम समेत किटान गरी समाचार प्रकाशन भएको थियो । अनुसन्धानका क्रममा निवेदकहरुले आफुले त्यसरी निवेदन लेखिदिए बापत कोही कसैलाई नगद नदिएको बताएका छन ।
प्रहरीको निवेदनलाई अभियुक्त अधिकारीले आफ्नो स्टेसनरीबाट स्क्यान गरी विवरण थपघट गरी आफ्नो व्यक्तिगत इमेल आइडीबाट विभिन्न सञ्चारमाध्यममा जिल्ला प्रहरी कार्यालयको सरकारी छापसमेत प्रयोग गरी झुटो भ्रामक विवरण प्रेषित गरेको पाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभएको छ । उनले केही समय पहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुसंग निवेदनहरु लेखी सो वापत शुल्क लिदै आईरहेकोमा बिगत ३ महिना देखी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिकको सेवा सुविधाको लागी निशुल्क निवेदन लेख्ने व्यवस्था गरेकोमा निजले उक्त कार्यलाई रिशिवी राखी प्रहरीमाथी गम्भिर आरोप लगाउदै भ्रामक झुटा समाचार बनाई विभिन्न पत्रिकामा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनलालाई जिल्ला अदालतबाट सरकारी छाप किर्ते मुद्धामा दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।