बुटवल ।
लुम्बिनीमा विद्युतीय गाडी सञ्चालनका लागि बाटो खुलेको छ । बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले सेतो नम्बर नम्बर प्लेटमा दर्तामा रहेका ५ वटा बस र १४ वटा भ्यानलाई हरियो नम्बर प्लेटमा रुपान्तरण गर्ने निर्णय गरेसँगै सञ्चालनको बाटो खुल्ला भएको हो । विद्युतीय बस र भ्यान सञ्चालनका लागि कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराईको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले कार्यविधि निर्माण गरि सञ्चालनको मोडेल बनाएको थियो।
सरकारी नम्बर प्लेटका सवारी साधन सरकारको सम्पत्ति मानिने र सो सम्पत्ती सार्वजनिक सरकारी निकायलाई हस्तान्तरण गर्न सकिने भएपनि अन्य नम्बर प्लेटमा हेरफेर गर्ने कानुनी व्यवस्था नहुँदा मन्त्रालयले कोषलाई हस्तान्तरण गरेपनि विद्युतीय गाडी पार्किङमा राख्नुुपरेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (पछिल्लो संशोधन)मा समेत स्पष्ट व्यवस्था नभएकाले मन्त्रिपरिषद बैठकले सेतो नम्बर प्लेटमा दर्ता भएका सवारीलाई हरियो नम्बर प्लेटमा रुपान्तरणका लागि उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई स्विकृती प्रदान गर्ने निर्णय गरेको हो ।
एसियाली विकास बैंकको अनुुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमणमा आउने आन्तरीक र बाह्य तीर्थयात्री एंव पर्यटकलाई सेवा दिने गरि ५ वटा विद्युतीय बस र १४ वटा भ्यान संस्कृती पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको थियो । मन्त्रालयले बस र भ्यान हस्तान्तरणपछि यातायात व्यवस्था कार्यालय बुुटवलबाट सेतो नम्बर प्लेटमा दर्ता गरिएको थियो । एसियाली विकास बैंकको अनुुदान सहयोगमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान र चार्जिंग स्टेशनसोलार प्लाण्ट र सोलार चार्जर स्टेशन निर्माणका लागि २८ करोड लागत लागेको थियो ।