९ जेठ, काठमाण्डौ ।
जिल्ला अदालत काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । आज मङ्गलवार म्याद थपका लागि अदालतमा पेस गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभएको छ । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।
यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृह सचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ । यस प्रकरणमा एक सय १३ जनाले साढे २७ करोड रुपैयाँ ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए ।