काठमाण्डौ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताले अपनत्व ग्रहण गरेको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा विकास गर्न खोजिरहेको बताउनुभएको छ। बुधबार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले ख्वप अस्पताल सञ्चालनको उद्देश्यबारे प्रष्ट पार्दै ख्वप अस्पतालले कोभिड महामारीको प्रतिकूल अवस्थामा पनि स्थानीय जनतास“ग हातेमालो गरी निरन्तर जनताको सेवामा अगाडि बढिरहेको बताउनुभयो। अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले जनताको मन जित्ने ढंगले काम गर्न प्रेरित गर्दै भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाको कार्यशैलीबाट सिक्न देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु अनुभव आदानप्रदानको क्रममा भक्तपुर आउने क्रम चालु रहेको बताउनुभयो।
कर्मचारीहरुले समय परिपालना, बिरामीहरुसँग गरिने व्यवहार र अनुशासनमा विशेष जोड दिन मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरबासीलाई २० मिनेटभित्र स्वास्थ्य सेवा दिन सक्ने व्यवस्था गर्नुका साथै नागरिकहरुको स्वास्थ्यसम्बन्धी जानकारी लिन घरदैलो नर्सिङ कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताउनुभयो । अभिमुखीकरणमा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लको पनि उपस्थिति रहेको थियो ।