परासी ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। बुटवल नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्वतर्फ जाने सयौं सवारी साधन अलपत्र परेका छन् । वर्षाका कारण डाइभर्सन मर्मतमा समस्या भएको प्रहरीले जनाएको छ। सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको बताइएको छ। डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिम बाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।