१६ जेठ , काठमाण्डौ ।
भारतमा आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ । नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई पनि समेटेको छ । संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेका थिए । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रले कुटनीतिक विवाद सिर्जना गरेको बताउनुभएको छ। भट्टराईले ट्विटमा लेख्नुभएको छ ‘यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ । विश्वासको सङ्कटलाई अझ बढाउने सम्भावना देखिन्छ । यो भित्तेचित्रको अभिप्राय र सन्देशलाई भारतले बेलैमा प्रस्ट पार्नुपर्ने देखिन्छ ।’ अखण्ड भारत भनेर इतिहास दर्साउन खोजिएको हो कि भविष्य हो भनेर स्पष्ट भएपछि यस विषयमा प्रतिक्रिया दिने परराष्ट्र मन्त्रालयको तयारी छ ।