रुपन्देही ।
लुम्बिनी विकास कोषले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरु गरेको छ । आज (बुधबार )कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्त रुपमा उत्खननको शुभारम्भ गरेका हुन् । देवदह नगरपालिका(९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरुले आवाज उठाउँदै आएका थिए । देवदहका स्थानीय समेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियान्ताहरुले दावी गरे अनुसार देवदहको खोजीका लागि उत्खनन महत्वपूर्ण बन्ने बताउनुभयो ।
उहाँले कोषले बौद्धपुरातात्विक क्षेत्रहरुको उत्खनन र संरक्षणमा पुरातात्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको बताउनुभएको छ।उहाँले देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरुको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने बताउनुभयो । उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले खयरडाँडाँ क्षेत्र नै कोलिय गणराज्यको राजधानीको दरवार क्षेत्र रहेको दावी गर्नुभयो। उनले उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टी रोहीणी नदी रहेकाले यहि क्षेत्र नै देवदह भएको आफुहरुको विश्वास रहेको बताउनुभएको छ । नगरप्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्विक बस्तु र स्मारकहरुलाई नगरपालिकाले संग्रालय बनाएर राख्ने प्रतिबद्धता जनाउनुभयो ।
लुम्बिनी विकास कोषका पुरातात्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ । लामो समयदेखि स्थानीयहरुको माग रहेपनि विविध कारण हुन नसकेको उत्खनन यो पटक शुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए। स्थानीयहरुको दावी अनुसार खयरडाँडाँ बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरवार क्षेत्र हो । पुरातात्विक रुपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरु जुटाउने अपेक्षा गरिएको छ । उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा केसि, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्षहरू मोहन जिसि र कृष्ण अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उकेशराज भुजु लगायतको उपस्थिती थियो । आज बुधबारदेखि शुरु भएको उत्खनन आगामि असार १५ गते एक महिनासम्म चल्नेछ ।