एजेन्सी ।
युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसनमा रहेको नोभा काखोभ्का बाँधमा विस्फोट भएको छ। विस्फोटका कारण बाँध भत्किएपछि युक्रेनी सेनाले दिनप्रो नदीमा बाढी आउनसक्ने भन्दै आसपासका बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा जान सुझाव दिएको बीबीसीले जनाएको छ । बाँधमा विस्फोट गराएको बारेमा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाइरहेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आपत्कालीन बैठक बोलाएर घटनाबारेमा निन्दा गर्नुभएको छ । रुसले बाँध भत्काएको आरोप लगाउँदै युक्रेनले यसबाट ठूलो पर्यावरणीय नोक्सान हुने पनि बताएको छ। तर रुसको रक्षा मन्त्रालयका प्रवक्ता दिमित्री पेस्कोभले बाँध युक्रेनले नै ध्वस्त पारेको आरोप लगाउनुभएको छ।
यसैबीच बेलायती विदेशमन्त्री जेम्स क्लेभरलीले विज्ञप्ति निकालेर बाँधमा गरेको विस्फोट एउटा घृणित कार्य भएको भन्दै नियतवश पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध भएको उल्लेख गर्नुभएको छ। युरोपियन युनियन प्रमुख चार्ल्स माइकेलले घटनाबाट आफू स्तब्ध भएको भन्दै यसप्रति रुस जिम्मेवार हुने बताउनुभएको छ। यस्तै, उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बाँधमा भएको विस्फोटको घटनाले रुसको क्रुरतालाई फेरि एक पटक छताछुल्ल पारेको बताउनुभएको छ।




