एजेन्सी ।
इङ्ल्यान्डका प्रभावशाली क्रिकेटर मोइन अली आफ्नो सन्न्यास फिर्ता लिएर पुनः राष्ट्रिय टेस्ट टोलीमा फर्किएका छन् । उनलाई अस्ट्रेलियाविरुद्घको एसेस टेस्ट शृंखलाका लागि इङ्ल्यान्डको टोलीमा समावेश गरिएको हो । ३५ वर्षीय मोइन अलीले सन् २०२१ को सेप्टेम्बरमा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । उनले त्यतिबेला भएको इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखलालगत्तै टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसयता उनले पहिलो श्रेणीको क्रिकेट खेलेका छैनन् । अस्ट्रेलियाविरुद्घको एसेस शृंखलाका लागि मोइन अलीलाई स्पिनर ज्याक लिचको स्थानमा टोलीमा समावेश गरिएको हो । ज्याक लिच भने स्वास्थ्य समस्याका कारण एसेस शृंखलाबाट बाहिरिएका हुन् ।
इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याककुलुम र कप्तान बेन स्टोक्ससँग लामो समय छलफल गरेपछि मोइन अलीले आफ्नो सन्न्यास फिर्ता लिएका हुन् । अलराउन्डर मोइन अलीले इङ्ल्यान्डका लागि हालसम्म ६४ टेस्ट खेलेर कुल दुई हजार नौ सय १४ रन बनाएका छन् । उनले इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा एक सय ९५ विकेट पनि लिएका छन् । अस्ट्रेलियाविरुद्घको टेस्टमा भने अफ स्पिनर मोइन अलीको प्रदर्शन मिश्रित छ । अस्ट्रेलियाविरुद्घ ११ वटा टेस्ट खेल्दै उनले २० विकेट लिएका छन् । उनले अस्ट्रेलियाविरुद्घको टेस्ट क्रिकेटमा २५।०५ को औसतले कुल चार सय ७६ रन बनाएका छन् ।