काठमाण्डौ ।
आज गर्मी कम हुने मौसमविदले जनाएका छन । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीतल हुने र हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभएको छ । पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको र मनसुन अनुकूलको वातावरण बनिरहेकाले तापक्रम केही घट्ने मौसमविद् कँडेलले बताउनुभएको छ । अहिले नेपालमा पश्चिमी वायुसँगै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । जलवाष्पयुक्त हावाको केही प्रभाव तराईका जिल्लामा पनि पर्ने भएकाले गर्मी केही कम हुने मौसमविद् कँडेलले बताउनुभयो । एक हप्ताभन्दा लामो समयदेखि तराईमा लगातार तापक्रम बढिरहेको छ भने तातो हावा लू चलिरहेको छ । अत्यधिक गर्मीका कारण तराईका धेरैजसो विद्यालय बन्द छन् ।