एजेन्सी ।
फ्रान्समा भएको हिंसात्मक प्रदर्शनका क्रममा एकैरात झण्डै एक हजार जना प्रदर्शनकारी पक्राउ परेका छन। गएराति प्रहरीले ९ सय ९४ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ। योसहित पक्राउ पर्नेको सङ्ख्या एक हजार आठ सय जना पुगेको छ। पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका छन। फ्रान्सको राजधानी पेरिसमा गएको मङ्गलवार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ। नाहेल एमलाई मङ्गलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेका थिए।
प्रदर्शनकारीले पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाएका छन् । सार्वजनिक ठाउँमा झण्डै चार हजार वटा आगजनीका घटना भएका छन् । हिंसा नियन्त्रणका लागि सरकारले ४५ हजार सुरक्षाकर्मी खटाएको छ । रातभर सार्वजनिक यातायात बन्द गराएको भए पनि प्रदर्शन रोकिएको छैन । कतिपय ठाउँमा कर्फ्यु लगाएको भए पनि त्यसको उल्लङ्घन भइरहेको छ।