काठमाण्डौ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित एसईईको नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभएको छ । एसईई गएको चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए । कक्षा ९ देखि प्राविधिक धारसमेत पढाउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसईईमा सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो ।