काठमाण्डौ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) –२०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको चैतमा लिएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ। बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भैरहेको छ।
नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ। सकेसम्म भोलि नै र प्राबिधिक कारण तयारी नसके पर्सि शुक्रबारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभएको छ। चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।अस्ति बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।