एजेन्सी ।
ठुलो आँचमा प्रयोग गरिने सिङ्गल ग्यास बर्नर चुल्होबाट अत्यधिक मात्रामा बेन्जिन रसायन निस्कन्छ । बेन्जिन दमसमेत विभिन्न खालका खतरनाक रोगको एउटा कारण बन्न सक्छ । घरमा खाना बनाउनका लागि प्रयोग हुने ग्यास चुल्होले दमसमेत थुप्रै रोगलाई जन्म दिन्छ । यसबारे मानिसलाई जानकारी छैन तर अमेरिकामा गरिएको शोधले यस्तो दाबी गर्छ । स्ट्यानफर्ड अनुसन्धाताले गरेको एक नयाँ अध्ययनमा यस्ता ग्यास चुल्होबाट निस्कने हानिकारक ग्यासले सास सम्बन्धी रोगका साथै थुप्रै खतरनाक रोगसमेत लाग्न सक्ने बताइएको छ । यसमा ल्युकेमिया र लिम्फोमाजस्ता क्यान्सर पनि समावेश छन् । ग्यास चुल्हो ४५ मिनेटसम्म मात्र बल्दा पनि यसले बेन्जिनको स्तरलाई यतिसम्म बढाउँछ कि यो चुरोट पिउने मानिसको नजिकै बसेको भन्दा पनि खतरनाक हुनसक्छ।
बेन्जिनको हानिकारक असर
यो अध्ययनमा चुल्होबाट निस्कने बेन्जिन ग्यासलाई निकै हानिकारक बताइएको छ । यो भान्सामा मात्रै सीमित हुँदैन । यसले बिस्तारै घर भरी फैलिएर, अरू कोठामा भएका मानिसलाई समेत क्षति पुर्याउन सक्छ । उदाहरणका लागि चुल्हो बन्द भएपछि पनि बेडरुममा बेन्जिनको खतरनाक मात्रा घण्टौँसम्म हावामा रहिरहन्छ । यसबाट निस्कने प्रदूषणको तुलना कुनै तेल वा ग्यास संयन्त्रको नजिकैको इलाकामा हुने प्रदूषणसँग गर्न सकिन्छ । अनुसन्धानको दाबी अनुसार इन्डक्सन चुल्होबाट यति मात्रामा बेन्जिन निस्किएको कुनै प्रमाण छैन ।
यो अनुसन्धानका लागि सन् २०२२ मा क्यालिफोर्निया र कोलोराडोका ८७ घरमा ग्यास र प्रोपेनको चुल्होको अध्ययन गरियो। ती मध्ये ३० प्रतिशत भान्सा घरमा एउटा मात्रै ग्यास बर्नर भएको चुल्होलाई ठुलो आँचमा प्रयोग गर्ने गरिएको पाइयो । त्यसबाट निस्किएको बेन्जिन चुरोट पिउने मानिस नजिकै बस्दा हुने हानीभन्दा बढी देखियो । यो अमेरिकामा इनभारोन्मेन्टल प्रोटेक्सन एजेन्सी ९इपीए० र विश्व स्वास्थ्य सङ्गठनद्वारा निश्चित गरिएको मानकभन्दा बढी हो । यो शोध पत्र इन्भारोन्मेन्टल साइन्स एन्ड टेक्नोलोजी जर्नलमा प्रकाशित भएको छ ।
ग्यास चुल्होले जलवायु परिवर्तन ?
अर्को अनुसन्धानमा, अमेरिकामा साना बच्चाहरूमा दमका केसहरू मध्ये १३ प्रतिशत मामिला घरको ग्यास चुलोसँग जोडिएको थियो । स्वास्थ्यका लागि मात्रै होइन, ग्यास चुलो जलवायुका लागि पनि खतरा हो । स्ट्यानफोर्डले यसअघि एउटा अध्ययनमा ग्यास चुलो बन्द हुँदा पनि मिथेन र अन्य हानिकारक ग्याँसहरू चुहिन्छन् भनिएको थियो । मिथेन एक शक्तिशाली हरित गृह ग्यास हो जसले जलवायु परिवर्तन गराउँछ ।